कञ्चनपुर गोलिकाण्ड

फाल्गुन २७, २०७३- भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्द बजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको सम्बन्धमा नयाँदिल्लीस्थित नेपाली दुतावासले भारतीय विदेश मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेश मन्त्रालयका नेपाल-भुटान डेस्क हेर्ने सहसचिव सुधाकर दलेललाई भेटेर उक्त उटनाको विरोध गरेका छन् । उपाध्यायले घटनाको सम्वन्धमा भारतीय पक्षसँग कुराकानी गर्दै त्यसको निन्दा समेत गरेका छन् । ‘मैले उक्त घटनाको सम्वन्धमा सकेसम्म छिटो छानबिन हुनुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भन्ने कुरा राखेको छु,’ उपाध्यायले भने ।
भारतीय पक्षले भने घटनाको सम्बन्धमा आफूहरुले छानबिन सुरु गरिसकेको जनाएको छ । बिहीबार भारतीय दूतावासले आफ्नो पक्षबाट कुनै गोली नचलाइएको भनी ठाडै अस्वीकार गरेको सम्बन्धमा पनि राजदूत उपाध्यायले आपत्ति जनाएका छन् । उनले दुई देशको मित्रवत् सम्बन्ध र नाताको सन्दर्भमा पनि भारतीय दूतावासले त्यस्तो विज्ञप्ति जारी गर्न नहुने बताएका छन् । उनले भारतले गर्ने अनुसन्धानमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् । आजै परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालका लागि भारतीय राजदूत विनयकुमारलाई बोलाएर यस सम्बन्धमा सोधपुछ गरेका छन् । त्यसको प्रत्युत्तरमा कार्यवाहक राजदूतले घटनाका सम्बन्धमा आफूहरुले छानबिन सुरु गरेको बताएका थिए ।
भारतको विदेश मन्त्रालयले नेपालको कञ्चनपुर र भारतको लखिमपुरका अधिकारीहरुको बीचमा भेटघाट भएको र दुवैपक्ष शान्ति र अमनचयन कायम गर्न सहमत भएको बताएको छ । नेपालले यसअघि नै भारतीय पक्षसँग यस विषयमा कुराकानी गरिसकेको छ ।
SOURCE =Ekantipur


Comments